हाम्रो विश्वासको सार
परमेश्वरको वचनमा आधारित हाम्रो विश्वास, शिक्षा र मण्डलीको जीवनलाई मार्गदर्शन गर्ने आधारभूत सत्यहरू।
पिता परमेश्वर
हामी एक मात्र साँचो परमेश्वरमा विश्वास गर्दछौं। परमेश्वर त्रिएक: पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वर हुनुहुन्छ, जो व्यक्तित्वमा तीन फरक, आफैंमा पूर्ण, अनन्त र एक–समान, अद्वितीय पहिचानमा हुनुहुन्छ। उहाँ सर्वोच्च शासक, स्वर्ग र पृथ्वीको सृष्टिकर्ता हुनुहुन्छ। परमेश्वर उहाँको पवित्रता, न्याय, ज्ञान, कृपा र प्रेममा सधैं अपरिवर्तनीय हुनुहुन्छ। परमेश्वर सर्वशक्तिमान, सर्वज्ञानी, सर्वव्यापी हुनुहुन्छ। उहाँ मानिसहरूको उद्धारकर्ता र न्यायकर्ता हुनुहुन्छ। परमेश्वरले सबै कुरालाई उहाँको सार्वभौमिकतामा र उहाँकै महिमाको निम्ति नियन्त्रण, अधिकार र शासन गर्नुहुन्छ।
शास्त्र: व्यवस्था ६:४; यूहन्ना १७:५; उत्पत्ति १:१-२; भजन १०२:२७; १ शमूएल १५:२९; यूहन्ना १:१; यसैया ६:३; व्यवस्था ३२:४; रोमी १६:२७; एफिसी २:४
प्रभु येशू ख्रीष्ट
हामी विश्वास गर्छौं कि प्रभु येशू ख्रीष्ट, परमेश्वरका पुत्र, पूर्ण रूपमा परमेश्वर र पूर्ण मानव हुनुहुन्छ। उहाँ पवित्र आत्माद्वारा गर्भवती हुनुभयो, कन्याबाट जन्मनुभयो, र पिताको आज्ञापालनमा पापरहित जीवन बिताउनुभयो। येशूले गर्नुभएका आश्चर्यकर्महरू उहाँका अधिकारका प्रमाण हुन् जसले उहाँको शिक्षा साँचो हुन् भन्ने कुरा प्रमाणित गर्दछन्। उहाँ पापीहरूको ठाउँमा क्रूसमा मर्नुभयो, चिहानमा गाडिनुभयो र तेस्रो दिनमा पुनरुत्थान हुनुभयो। उहाँ पिताको दाहिने हातपट्टि सिंहासनमा विराजमान हुनुहुन्छ। परमेश्वर र मानिसबीचमा केवल येशू ख्रीष्टमात्र एक मध्यस्थकर्ता हुनुहुन्छ।
शास्त्र: यूहन्ना १:१, २०:२८; रोमी ९:५; गलाती ४:४; हिब्रू ४:१५; यूहन्ना १४:६; यशैया ५३:५; १ कोरिन्थी १५:३-४; प्रेरित १:९; हिब्रू १:३; रोमी ८:३४
पवित्र आत्मा
हामी विश्वास गर्छौं कि पवित्र आत्मा सल्लाहकार हुनुहुन्छ। पवित्र आत्मालाई ख्रीष्टको महिमा गर्न र मुक्तिको कामलाई लागू गर्न स्वर्गबाट पठाइनु भएको हो। पवित्र आत्माले मानिसहरूको पाप देखाइदिनुहुन्छ, पुनर्जीवनमा ल्याउनुहुन्छ र परमेश्वरको वचनको सही अर्थ बुझ्नको निम्ति समझशक्ति दिनुहुन्छ। उहाँ नयाँ जीवन पाएका विश्वासीहरूमा बास गर्नुहुन्छ, मुक्तिको आश्वासन दिनुहुन्छ र ख्रीष्टसँग बढ्दो समानता उत्पन्न गर्नुहुन्छ।
शास्त्र: यूहन्ना १६:१४; तीत ३:५; यूहन्ना ३:६; १ कोरिन्थी २:१४; एफिसी १:१७-१९; भजन ११९:१८; रोमी ८:९; एफिसी १:११-१४; रोमी ८:१५; २ कोरिन्थी ३:१८; प्रेरित १:४; एफिसी ५:१८
पवित्रशास्त्र
परमेश्वरले आफूलाई बाइबलमा प्रकट गर्नुभएको छ, जुन पुरानो करारका ३९ र नयाँ करारका २७ गरी जम्मा ६६ वटा पुस्तकहरूमा मात्र समावेश छन्। प्रत्येक शब्द मानव लेखकहरू मार्फत परमेश्वरबाट प्रेरित भएको थियो र यो उहाँको पूर्ण र अन्तिम प्रकाश हो। यो त्रुटिरहित, वास्तविक र सिद्धान्तमा पूर्ण रूपमा भरपर्दो छ। बाइबल मात्र अन्तिम अधिकारसँग बोल्छ र सधैं विश्वास र अभ्यासका सबै मामिलाहरूको लागि पर्याप्त छ।
शास्त्र: हिब्रू १:२; २ तिमोथी ३:१६; यहूदा ३; प्रकाश २२:१९; एफिसी २:२०; २ पत्रुस १:२१; यूहन्ना १०:३५; भजन ११९:१६०
मानव जाति
हामी विश्वास गर्छौं कि सबै पुरुष र महिलाहरू ईश्वरको स्वरूपमा सृष्टि गरिएका र समान मर्यादा र मूल्यवान छन्। मानिसहरूको एकमात्र महान उद्देश्य भनेको परमेश्वरको आज्ञापालन, आराधना र प्रेमको आनन्द लिनु हो। हाम्रो पहिलो अभिभावक आदम र हव्वाको अनाज्ञाकारिताका कारण परमेश्वरको विरुद्ध पाप गरेका कारण मानव स्वभावको हरेक पक्ष भ्रष्ट भएको छ। हरेक मानिस परमेश्वरको शत्रु, उहाँसँगको आत्मिक सम्बन्धविहीन र पापको दोषी भएर जन्मन्छन्। त्यसैले प्रत्येक व्यक्ति परमेश्वरको न्यायोचित निन्दाको अधीनमा छ।
शास्त्र: उत्पत्ति १:२७; १ पत्रुस ३:७; व्यवस्था ६:५; रोमी ५:१२; एफिसी २:१-३; यर्मिया १७:९; रोमी ८:७-८
मुक्ति
हामी विश्वास गर्छौं कि मुक्ति सम्पूर्णरूपले परमेश्वरको अनुग्रहको काम हो। यो मानिसको असल कामद्वारा प्राप्त गर्न सकिँदैन। मानिसको मुक्ति बाइबलीय सुसमाचारमा प्रभु येशूले सिद्ध्याउनु भएको कामद्वारा मानिसहरूको निम्ति दिइएको छ। ख्रीष्टमा विश्वास गर्ने सबै विश्वासद्वारा मात्र धर्मी ठहरिन्छन्। उनीहरू परमेश्वरको परिवारमा ग्रहण गरिएका हुन्छन् र अनन्त जीवन प्राप्त गर्छन्।
शास्त्र: एफिसी २:८-९; २ तिमोथी १:९; तीत ३:५; हिब्रू ७:२७; मत्ती ११:२८; रोमी १०:१३; रोमी ३:२८; रोमी ५:१९; २ कोरिन्थी ५:२१; यूहन्ना ३:१६
मण्डली
विश्वव्यापी मण्डली एउटा शरीर हो, यसको शिर येशू ख्रीष्ट स्वयं हुनुहुन्छ र जसका सदस्यहरू येशूमा विश्वास गरी उद्धार पाएकाहरू मात्र हुन्छन्। मण्डलीको संसारमा देखिने रूप चाहिँ स्थानीय मण्डली हो, जसमा आराधना गर्नको निम्ति एकअर्काप्रति उत्तरदायी हुन समर्पित सदस्यहरू हुन्छन्। मण्डलीको अर्थ भवन होइन तर नयाँ जन्म पाएका र एकअर्काप्रति उत्तरदायी सदस्यहरूको समूह हो। सदस्यहरूले मण्डलीको पवित्रतालाई कायम राखी सुसमाचारलाई निरन्तरता दिन जिम्मेवार बन्नुपर्छ।
शास्त्र: मत्ती १६:८; हिब्रू १२:२२-२३; कलस्सी ४:१५; एफिसी २:१९-२२; मत्ती २८:१९; १ कोरिन्थी ११:२३-२६; हिब्रू १०:२३-२५; १ पत्रुस १:२२; १ यूहन्ना १:७; एफिसी ३:१०
बप्तिस्मा र प्रभुको भोज
हामी विश्वास गर्छौं कि बप्तिस्मा र प्रभुको भोज ख्रीष्टद्वारा सुसमाचारको देखिने चिन्हको रूपमा स्थापित गरिएका दुई विधिहरू हुन्। बप्तिस्माले ख्रीष्टसँग एकता र उहाँको चर्चमा प्रवेश भएको सार्वजनिक घोषणा गर्छ तर बप्तिस्माले उद्धार प्रदान गर्दैन। प्रभु–भोज येशूको एकपटकको बलिदानको सम्झना र उहाँको आगमनको निश्चयताको निम्ति मण्डलीले अभ्यास गर्ने विधि हो।
शास्त्र: मत्ती २८:१९; रोमी ६:३; कलस्सी २:१२; १ पत्रुस ३:२१; लूका २२:१९; १ कोरिन्थी ११:२३-२६
दोस्रो आगमन र भविष्य
हामी विश्वास गर्छौं कि प्रभु येशू ख्रीष्ट एक दिन महिमामा फर्कनुहुनेछ। उहाँले मृतकहरूलाई पुनर्जीवित पार्नुहुनेछ र धार्मिकतामा हरेकको न्याय गर्नुहुनेछ। दुष्टहरूलाई नरकमा अनन्त दण्डमा पठाइनेछ तर उद्धार पाएकाहरू चाहिँ अनन्त जीवनमा प्रवेश गर्नेछन्। परमेश्वरले हरेक कुरा फेरि नयाँ बनाउनुहुनेछ र त्यहाँ परमेश्वरसँगको अनन्त आनन्द र संगतिमा धर्मीजन रहनेछन्। त्यहाँ सबैथोक सधैंभरि महिमित हुनेछ।
शास्त्र: १ थेसलोनिकी ४:१६; २ थेसलोनिकी १:१०; १ यूहन्ना ३:२; मर्कूस १३:२६; मत्ती २५:४६; प्रकाश २१:५