सुसमाचार सही सन्देश परिवर्तन हुनुको एउटा प्रमुख कारण ख्रीष्टको पर्याप्ततामाथि मानिसको भरोसा कमजोर हुनु हो ।गलातीको पत्रमा गलातीका विश्वासीहरूले ख्रीष्टलाई अस्वीकार गरेका थिएनन् । उनीहरूले ख्रीष्टमा विश्वास गरिरहेका थिए, तर त्यससँगै मुक्तिको लागि यहूदी धार्मिक व्यवस्था र खतनालाई पनि आवश्यक ठान्न थालेका थिए। अर्थात्, ख्रीष्टमाथिको विश्वासमा मानव काम थपिँदै थियो । यही कुराले पावललाई गम्भीर बनाएको थियो, किनकि यसले सुसमाचारको मूल सन्देशलाई नै परिवर्तन गरिरहेको थियो । गलाती १:६–७ मा पावलले उनीहरू यति छिटो “अर्को सुसमाचारतर्फ” फर्किएकोमा आश्चर्य व्यक्त गर्छन् । तर उनले तुरुन्तै स्पष्ट पार्छन् कि वास्तवमा अर्को सुसमाचार छैन । तिनिहरूको मूल समस्या भनेको अनुग्रह र मानव कामलाई मुक्तिको आधारका रूपमा मिसाउनु थियो । सुसमाचारले मानिसलाई ख्रीष्टको काममा भरोसा गर्न बोलाउँछ तर झूटा शिक्षाहरूले मानिसलाई आफ्नै धार्मिक उपलब्धिमा भरोसा गर्न लगाउँन्छ । जब मानिसले “ख्रीष्ट पर्याप्त हुनुहुन्छ, तर...” भन्न थाल्छ, त्यही “तर” ले सुसमाचारको अर्थ बदल्न सक्छ । पावलका अनुसार मुक्ति परमेश्वरको अनुग्रहको दान हो । मानिसले आफ्नो धार्मिक कामद्वारा त्यसलाई कमाउन सक्दैन । ख्रीष्टले क्रूसमा पापीहरूको लागि आफ्नो जीवन अर्पण गर्नुभयो र पापको बन्धनबाट छुटकाराको बाटो खोल्नुभयो, त्यसैले मानव प्रयासलाई मुक्तिको आधार बनाउनु भनेको ख्रीष्टको क्रूसको पर्याप्ततालाई कमजोर पार्नु हो।
१. धार्मिकता र अनुग्रहको बीचमा हुने संघर्ष: सुसमाचार सही सन्देश परिवर्तन हुने अर्को तरिका मानिसले आफ्नो धार्मिकता निर्माण गर्न खोज्दा देखिन्छ । मानिसलाई आफूले केही गरेर परमेश्वरको सामु स्वीकार्य बन्न सक्छु भन्ने सोच स्वाभाविक लाग्न सक्छ । धार्मिक अभ्यास, नियम पालन, परम्परा र व्यक्तिगत उपलब्धिले मानिसलाई आफू ठीक अवस्थामा छु भन्ने अनुभूति दिन सक्छ तर गलातीको सन्देशले मुक्तिको आधार मानिसको उपलब्धि होइन, परमेश्वरको अनुग्रह हो भन्ने कुरामा जोड दिन्छ । पावलको आफ्नै जीवन यसको स्पष्ट उदाहरण थियो । ख्रीष्टलाई भेट्नुअघि उनी धार्मिकता, यहूदी व्यवस्था र आफ्नो प्रतिष्ठामा निकै रमाएका थिए । उनले मण्डलीलाई सताएका थिए र यहूदी धर्मको लागि आफ्नो जीवन नै समर्पित गरेका थिए । मानव दृष्टिले हेर्दा उनीसँग धार्मिक उपलब्धि र प्रतिष्ठाको कमी थिएन तर ख्रीष्टसँगको भेटपछि उनको जीवनको केन्द्र परिवर्तन भयो । उनले पहिले आफ्नो धार्मिकताको निम्ती लाभ ठानेका कुराहरूलाई सबै व्यर्थ रहेको बुझे । यसरी पावलको जीवनले पनि एउटा महत्वपूर्ण कुरा देखाउँछ, मानिसको धार्मिकता र ख्रीष्टमा पाइने धार्मिकता एउटै कुरा होइन । पावलको परिवर्तन कुनै मानव धार्मिक अभ्यासको कारणबाट आएको थिएन । दमस्कसको बाटोमा भएको उनको परिवर्तन परमेश्वरको अनुग्रहको काम थियो । सताउने शाऊल सुसमाचारको प्रचारक पावल बन्नु मानव प्रयासले व्याख्या गर्न नसकिने परिवर्तन थियो ।
२. मानिसलाई खुसी पार्ने चाहना: सुसमाचार सही सन्देश परिवर्तन हुने अर्को कारण मानिसको स्वीकृति प्राप्त गर्ने चाहना हो । पावलले गलाती १:१० मा आफू मानिसलाई प्रसन्न पार्न खोज्ने सेवक नभएको स्पष्ट गर्छन् । उनको सेवकाईको उद्देश्य मानिसबाट प्रशंसा प्राप्त गर्नु थिएन, ख्रीष्टलाई प्रसन्न पार्नु थियो । मानिसलाई खुसी पार्न खोज्दा सत्यमा सम्झौता गर्ने खतरा हुन्छ । गहन सत्यलाई हलुका बनाउन, मानिसले स्वीकार गर्ने सन्देश मात्र बोल्न वा लोकप्रिय धार्मिक विचारसँग मात्र प्रचार गर्ने र साँचो सुसमाचारलाई हलुका रूपमा लिने डर हुन्छ । गलातीको परिस्थितिमा पनि ख्रीष्टमा विश्वाससँगै यहूदी व्यवस्था जोडेर त्यसलाई सबैमा स्वीकारयोग्य बनाउन खोजिएको देखिन्छ । तर पावलका लागि सुसमाचारको सत्यता मानिसको स्वीकृतिभन्दा महत्वपूर्ण थियो ।
३. सुसमाचारको स्रोत: पावलले आफ्नो सन्देश मानिसबाट प्राप्त गरेका थिएनन् । उनले आफूले प्रचार गरेको सुसमाचार येशू ख्रीष्टको प्रकाशबाट प्राप्त भएको कुरा स्पष्ट पार्छन् । त्यसैले उनको सन्देशलाई मानिसको विचार वा धार्मिक आविष्कारको रूपमा लिन मिल्दैन । यही कारणले सुसमाचारमा मानिसले आफ्नो विचार थप्ने अधिकार राख्दैन । यदि सन्देशको स्रोत परमेश्वर हुनुहुन्छ भने त्यसलाई मानव रुचि, परम्परा वा धार्मिक उपलब्धिअनुसार परिवर्तन गर्नु गम्भीर त्रृटिको विषय हुन्छ । पावलले यही कारणले “यदि कसैले हामीले प्रचार गरेको सुसमाचारबाहेक अर्को सुसमाचार प्रचार गर्छ भने ऊ श्रापित होस्” भन्ने अत्यन्त कडा चेतावनी दिन्छन् । यसको अर्थ सुसमाचारमा कुनै पनि प्रकारको परिवर्तन सामान्य विचारको भिन्नता मात्र होइन तर सुसमाचारसंगको खेलवाड हो । ख्रीष्टको क्रूस र परमेश्वरको अनुग्रहलाई मानव कामले प्रतिस्थापन गर्न सक्दैन।
सुसमाचारलाई जोगाउने जिम्मेवारी यसैले सुसमाचारलाई सहि रूपमा बुझ्नु र त्यसलाई जोगाउनु प्रचारकहरूको मात्र जिम्मेवारी होइन । मण्डलीका प्रत्येक सदस्यले पनि आफूले सुनेको शिक्षा धर्मशास्त्रसँग मिल्छ कि मिल्दैन भनेर जाँच्नुपर्ने हुन्छ । स्रोत सामग्रीले मानिसको सेवकाईको लोकप्रियता, चमत्कारी चिन्ह वा बाहिरी प्रभावभन्दा परमेश्वरको वचनप्रतिको विश्वासयोग्यतालाई महत्वपूर्ण मापदण्डका रूपमा प्रस्तुत गर्छ । गलाती १ को मुख्य चुनौती यही हो, सुसमाचारमा ख्रीष्टलाई केन्द्रमा राख्ने कि मानिसको कामलाई ? पावलको उत्तर स्पष्ट छ । हाम्रो मुक्ति हाम्रो धार्मिक उपलब्धिमा होइन, ख्रीष्टको क्रूसमा सम्पन्न भएको काममा आधारित छ । हामी केवल अनुग्रहद्वारा, केवल विश्वासद्वारा र केवल ख्रीष्टद्वारा बचाइएका हौँ । त्यसैले सुसमाचारलाई सही सन्देश परिवर्तन हुनबाट जोगाउनु भनेको नयाँ विचारको विरोध गर्नु मात्र होइन । यसको अर्थ ख्रीष्टले गर्नुभएको काम पर्याप्त छ भन्ने सत्यलाई दृढतापूर्वक समात्नु हो । जब मण्डलीले ख्रीष्टको क्रूस, परमेश्वरको अनुग्रह र विश्वासद्वारा प्राप्त हुने मुक्तिलाई केन्द्रमा राख्छ, तब सुसमाचार आफ्नो मूल स्वरूपमा सुरक्षित रहन्छ ।